.

बजेटले माग सम्बोधन नगरेको भन्दै अनुदान शिक्षक समिति आन्दोलनमा

संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३÷८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ।

विगत लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधाका विषयमा सरकारको ध्यानाकर्षण गर्न माइतिघरमा प्रदर्शन गरेको हो।

समितिले २०७८, २०८० र २०८२ सालमा सरकारसँग भएका सहमति, साथै संघीय शिक्षा ऐनको निर्णयार्थ पेश गरिएको मस्यौदामा उल्लेख गरिएका व्यवस्थापनसम्बन्धी प्रावधानलाई बेवास्ता गरिएको आरोप शिक्षकहरूले लगाएका छन्।

अनुदान शिक्षकहरूले ६०÷४० प्रतिशत आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नगरी सरकारले अनुदान शिक्षकका मागप्रति उदासीनता देखाएको आरोप लगाएका छन्।

समितिका अनुसार हाल देशभर करिब ११ हजार संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरू माध्यमिक र आधारभूत तहमा अंग्रेजी, गणित तथा विज्ञानजस्ता विषय अध्यापन गरिरहेका छन्।

बजेट वक्तव्यमा सम्मानजनक तलबवृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्तालगायतका माग स्पष्ट रूपमा समावेश नगरिएको भन्दै शिक्षकहरूले त्यसप्रति विरोधमा हिजोदेखि उत्रिएका हुन्।

उनीहरूले माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने तथा सामूहिक राजीनामासमेत दिन बाध्य हुने चेतावनी पनि दिएका छन्। 

उनीहरूले हिजो बिहान १० बजे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र, विशेष नियुक्तिपत्र तथा मार्कर पेनसहित प्रदर्शन गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया