.

भारतीय कडा नियमपछि नेपाली चिया निर्यात संकटमा

भारतले नेपालबाट हुने चिया आयातमा नयाँ तथा कडा प्रावधान लागू गरेपछि नेपाली चिया उद्योग गम्भीर संकटमा परेको छ । 


भारतीय चिया बोर्डले १८ वैशाखदेखि लागू हुने गरी नयाँ कार्यविधि जारी गरेसँगै नेपालबाट भारततर्फ हुने चिया निर्यात लगभग ठप्प बनेको व्यवसायीहरूले बताएका छन् ।


नयाँ नियमअनुसार अब नेपालबाट भारत प्रवेश गर्ने प्रत्येक ट्रकको चिया छुट्टाछुट्टै प्रयोगशाला परीक्षण गर्नुपर्नेछ ।अहिले भने प्रत्येक ट्रकको परीक्षणका लागि करिब ११ हजार भारु शुल्क तिर्नुपर्ने र नतिजा आउन कम्तीमा दुई साता कुर्नुपर्ने व्यवस्था गरिएको छ ।


भारतले आयातित चियामा मिसावटको जोखिम बढेको भन्दै गुणस्तर परीक्षण कडा बनाएको जनाएको छ । भारतीय चियाको साख जोगाउन, विदेशी चियाको गुणस्तर मापन गर्न तथा उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न नयाँ नियम लागू गरिएको त्यहाँको चिया बोर्डले उल्लेख गरेको छ । 


नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतले औपचारिक रूपमा निर्यात बन्द नगरे पनि व्यवहारमा असम्भव बनाएको बताएका छन् ।


उनले प्रत्येक ट्रकको छुट्टाछुट्टै परीक्षण, लामो प्रतीक्षा अवधि र उच्च शुल्कका कारण व्यवसाय सञ्चालन असहज बनेको बताए । भारतको पानीट्यांकी भन्सार क्षेत्रमा ट्रकहरू लामो समय राख्ने उचित व्यवस्था नभएकाले चियाको गुणस्तर नै बिग्रने जोखिम रहेको उनको भनाइ छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस विषयमा सरोकारवालासँग छलफल गरी प्रतिवेदन सम्बन्धित मन्त्रालयमा पठाइसकेको जनाएको छ । बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार यो प्राविधिकभन्दा पनि दुई देशबीच कूटनीतिक तहमा समाधान गर्नुपर्ने विषय बनेको छ ।

व्यवसायीहरूका अनुसार भारतले यसअघि पनि नेपाली चियामाथि विभिन्न समयमा अवरोध खडा गर्दै आएको छ । 


कहिले गुणस्तर त कहिले ब्रान्डिङको बहानामा गैरभन्सार अवरोध सिर्जना गरिएको उनीहरूको आरोप छ । 


पछिल्लो तथ्यांकअनुसार नेपालले वार्षिक करिब चार अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको छ । 

देशभर २० हजारभन्दा बढी हेक्टर क्षेत्रमा चिया खेती भइरहेको छ भने यस क्षेत्रबाट करिब ६० हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया