.

विभिन्न १५ निर्माण कम्पनीलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न सूचना

सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले लिखित स्पष्टीकरणका लागि सूचना निकालेको छ ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न मौका दिएको हो । सडक डिभिजन डोटी, सडक डिभिजन इलाम, सडक डिभिजन पाल्पा, सडक डिभिजन ललितपुरलगायतका निकायबाट सिफारिस भएका व्यवसायी तथा कम्पनीहरू रहेका छन् । जसमा अनुप कन्स्ट्रक्सन, अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स, नागार्जुन÷आशिका जे.भी, पन्थ–तारा लक्ष्मी जे.भी, रिदम कन्स्ट्रक्सन लगायत रहेका छन् ।

आज सूचना निकालेर कार्यालयले ती कम्पनीलाई किन कालो सूचीमा नराख्ने भन्नेबारे चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । यसअघि सम्बन्धित सार्वजनिक निकायले ती कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरेको थियो । तर, त्यो अवधिमा कुनै पनि लिखित जवाफ नआएपछि कार्यालयले सार्वजनिक सूचनामार्फत पुनः ७ दिनको मौका दिएको हो ।

तोकिएको समयभित्र स्पष्टीकरण नआएमा ती कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ । कालो सूचीमा परेमा ती निर्माण व्यवसायी वा कम्पनीले कालो सूचीमा राखिएको अवधिभर कुनै पनि सरकारी ठेक्कापट्टामा सहभागी हुन पाउने छैनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया