विराटनगर,४ साउन । भन्सार विभागले विना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।
समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गर्नुभएको हो ।
विभागका कर्मचारीले आवश्यक जाँच गरे पनि कहिलेकाहीँ प्राविधिक त्रुटिका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको होु, सूचना अधिकारी खड्काले भन्नुभयो ।
यसै गरी उद्योगी एवं व्यवसायी दिपक मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनु भएको छ ।
आज बिहिबार पत्रकार सम्मेलन गर्दै मल्होत्राले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रस्ट्याउनु भएको हो ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिन लागेको झण्डै एक क्वीन्टल सुन बरामद भएको थियो । त्यसमा मल्होत्राको नाम जोडिएपछि उहाँले त्यसबारे स्पष्ट पार्नु भएको हो ।
त्यसैगरी राजस्व अनुसन्धान विभागले बुधबार साँझ बरामद गरेको सुन तौलिन टक्सार विभाग लगिएको छ। थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन जोख्न पठाइएको विभागले जानकारी दिएको छ।
बरामद भएको सुनको तौल करिब सय किलो अनुसमान गरिएको छ। यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन्। अनुसार पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका( ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका(४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका(४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ छन्।
त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ। यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै खोजी तीव्र पारिएको छ। अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ(काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको मोटरसाइकल(स्कुटरको ब्रेक सुसहितको स्पेयर पार्टस् अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो। जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो।