अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई विभिन्न देशले समर्थन गरेका छन् ।
इस्लामावादमा भेला भएका साउदी अरब, टर्कीए र इजिप्टका विदेश मन्त्रीले पाकिस्तानको पहललाई पूर्ण समर्थन जनाएका हुन् । टर्कीएका विदेशमन्त्री हाकान फिदान, इजिप्टका बद्र अब्देलट्टी तथा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान इस्लामावादमा भेला हुनुभएको हो ।
पाकिस्तानका उपप्रधान एवं विदेश मन्त्री मोहम्मद इशाक डारले एक सन्देशमार्फत सहभागीले वार्ता र कुटनीति नै दिगो शान्ति प्राप्त गर्ने एक मात्र व्यावहारिक मार्ग भएकोमा सहमति जनाएका बताउनुभयो । मध्यपूर्वमा थप सैन्य तनाव रोक्न आवश्यक रहेकोमा छलफलमा सहभागी विदेशमन्त्रीले जोड दिएका छन् ।
डारले भ्रमणमा आएका विदेश मन्त्रीहरूलाई अमेरिका र इरानबीच हुनसक्ने सम्भावित वार्ताको सम्भावनाबारे जानकारी गराएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मध्यपूर्वको युद्ध समाधानका लागि पाकिस्तानले कूटनीतिक सक्रियता बढाएको हो । यसका लागि थप समन्वय बढाउन पाकिस्तानसहित चार वटै देशका विदेश मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित एक समिति गठन गर्ने निर्णय पनि भएको छ ।
बैठक क्षेत्रीय परिस्थितिको विकास र तनाव कम गर्ने तथा जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा केन्द्रित थियो ।
त्यसैगरि
अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका कारण एसियाली बजार खुल्नेबित्तिकै आज सोमबार कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल ११५ अमेरिकी डलरभन्दा माथि पुगेको छ।
बीबीसी फारसीका अनुसार, ब्रेन्ट क्रुड आयलको मूल्यमा २.९ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ११५.८४ डलर पुगेको छ। यसअघि गत हप्ता मार्च १९ मा तेलको मूल्य प्रति ब्यारेल ११८ डलरसम्म पुगेको थियो, यद्यपि शुक्रबार दिउँसो भने केही गिरावट देखिएको थियो।