पश्चिम एशियामा जारी द्वन्द्व एवं युद्धले विश्वव्यापी खाद्य असुरक्षा अभूतपूर्व स्तरमा पु¥याएको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले हाल विश्वभर करिब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको सार्वजनिक गरेको छ ।संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीचको सैन्य द्वन्द्वले खाद्य र इन्धनको मूल्य वृद्धि गराएको छ । जसले कमजोर जनसंख्यालाई सबभन्दा बढी प्रभावित गरेको छ । युद्धकै कारण विश्वभरमा ३२ करोड जनसंख्या संकटमा परेको हो ।
डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले जेनेभामा पत्रकार सम्मेलनमार्फत युद्ध लम्बिँदा र तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुग्दा थप ४ करोड ५० लाख मानिस भोकमरीको चपेटामा पर्न सक्ने खतरा रहेको बताए । उनका अनुसार जीवनयापन खर्च बढ्दा सामान्य मानिसले दैनिक आवश्यकतामा पनि कमी गर्नुपर्ने अवस्था आएको छ ।
फेब्रुअरी २८ देखि अमेरिका–इजरायलले इरानमा सैन्य कारबाही सुरु गरेपछि द्वन्द्व चर्किएको हो । त्यसपछि इरान, खाडी क्षेत्रका देशहरू र हिज्बुल्लाहको संलग्नतासँग लेबनान पनि युद्धमा तानिएको छ ।
हाल डब्लुएफपीले लेबनानमा हजारौँ मानिसलाई तातो खाना र रोटी वितरण गर्दै आएको छ । आगामी तीन महिनाका लागि तत्काल ७७ मिलियन अमेरिकी डलर सहयोगको अपिल गरेको छ ।
युद्धले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रभावित पार्दा राहत कार्य झन् महँगो भएको छ । ढुवानी खर्च १८ प्रतिशत बढेर इन्धन मूल्य उच्च भएपछि खाद्य सहायता वितरण चुनौतीपूर्ण बनेको छ ।
साथै, सोमालिया, केन्या, सुडान र अफगानिस्तानमा पनि कृषिजन्य उत्पादन र खाद्य सुरक्षा संकट गहिरिँदै गएको छ । डब्लुएफपीले पर्याप्त बजेट अभावले हजारौँ मानिसलाई सहयोग पु¥याउन नसकिएको जनाउँदै विश्व समुदायलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ ।
द्वन्द्व र विश्वव्यापी खाद्य संकटले अहिले कमजोर जनसंख्या र विकासोन्मुख देशहरूलाई सबैभन्दा बढी जोखिममा पु¥याएको डब्लुएफपीले उल्लेख गरेको छ ।