.

मध्यपूर्वको तनाव उत्कर्षमाः अमेरिकाद्वारा आफ्ना नागरिकलाई १४ देश छाड्न अपिल

इरान र अमेरिकाबीचको बढ्दो सैन्य तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था अत्यन्तै जटिल बनेको छ। इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल १४ वटा देश छाड्न अपिल गरेको छ।


अमेरिकी विदेश मन्त्रालयले इरान समर्थित सशस्त्र समूहहरूबाट गम्भीर खतरा रहेको भन्दै नागरिकहरूलाई सुरक्षित स्थानतर्फ जान वा स्वदेश फर्कन आग्रह गरेको हो।

यसैबीच, बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार राति भएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न निर्देशन दिएको छ। दूतावासले एक सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकीहरूलाई ‘अहिले नै निस्कन’ भनेको हो।


इराकका साथै ओमानबाट पनि गैर–आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई सुरक्षित ठाउँमा सार्न आदेश दिइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।


अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा पनि यस युद्धको असर देखिन थालेको छ। स्विट्जरल्यान्डले इरानसँगको द्वन्द्वमा संलग्न अमेरिकी सेनाका दुईवटा टोही विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको छ।

स्विस सरकारले आफ्नो ‘तटस्थता कानुन’ उद्धृत गर्दै युद्धमा संलग्न कुनै पनि पक्षलाई सैन्य उद्देश्यका लागि आफ्नो आकाश प्रयोग गर्न नदिने स्पष्ट पारेको छ। यद्यपि, मर्मतसम्भार र ढुवानीसँग सम्बन्धित अन्य तीनवटा उडानलाई भने उसले मानवीय र प्राविधिक आधारमा अनुमति दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया