इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ। यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण हमला गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो निभाउने कार्य भइरहेको जनाएका छन् । उनीहरूले हवाई प्रतिरोध प्रणालीले नष्ट गरेको ड्रोन खस्दा आगलागी भएको बताएका छन् । उक्त बन्दरगाह यूएईका निम्ति अत्यन्त महत्त्वपूर्ण स्थान हो भने मध्येपूर्वकै सबैभन्दा विशाल तेलभण्डार केन्द्रहरूमध्ये एक हो ।
साथै पानीजहाजहरूमा इन्धन भर्नका निम्ति पनि यो महत्त्वपूर्ण स्थल हो । फुजाइरा बन्दरगाह ओमानको खाडीमा पर्छ । त्यहाँ पुग्न पानीजहाजहरूलाई जलक्षेत्रमा युद्ध सुरु भएको दुई सातायता पानीजहाजको आवतजावत लगभग बन्द रहेको हर्मुज स्ट्रेट पार गर्नुपर्दैन ।
ड्रोन हमलापछि अनलाइन माध्यममा देखिएका फुटेजमा यूएईको पूर्वी तटमा रहेको उक्त पूर्वाधार परिसरबाट बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको थियो ।
फुजाइरा बन्दरगाहमा ड्रोन हमला त्यतिखेर भएको छ जतिखेर इरानी रिभोलूशनरी गाड्र्स कोर (आईआरजीसी)ले अमेरिकाले उसको खार्ग द्वीपमा हमला गरेका कारण अब यूएईका बन्दरगाह तथा अमेरिकी सैन्य ठेगानाहरू आफ्नो निम्ति वैध निसाना बनेको जनाएको छ।