.

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि युद्धविराम र कूटनीतिक पहल गर्न चीनको आह्वान

चीनले मध्यपूर्वमा भड्किरहेको द्वन्द्व अन्त्यका लागि युद्धविराम तथा कूटनीतिक पहल गर्न आह्वान गरेको छ ।


विदेश मन्त्रालयका प्रवक्ता माओ निङले आज पत्रकार सम्मेलन गरेर द्वन्द्व अन्त्यका लागि सबैभन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नुपर्ने बताउनुभयो । वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न उहाँको आग्रह छ ।


इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि द्वन्द्वको असर छिमेकी देशहरूसम्म फैलिएको छ । इरानमाथि आक्रमण भएको तेस्रो दिन अहिले पनि इजरायल र इरानमा आक्रमण भइरहेका छन् भने इरानले इजरायलसहित अमेरिका र इजरायलका सैन्य क्याम्प रहेका मध्यपूर्वका देशहरूमा आक्रमण गरिरहेको छ ।


यसैबीच लेबनानमा इजरायल र इरान समर्थित विद्रोही समूह हिजबुल्लाहबीच गोली हानाहान भएको छ । बेरुत र दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा ३१ जनाको ज्यान गएको र १ सय ४९ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


यसअघि इजरायलले लेबनानका ५० भन्दा धेरै शहर र गाउँका बासिन्दाहरूलाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको थियो ।


अमेरिका र इजरायली आक्रमणबाट आफ्नो नातान्ज आणविक केन्द्रमा क्षति पुगेको इरानले बताएको छ । संयुक्त राष्ट्रसङ्घ आणविक निगरानी संस्थाका लागि इरानका राजदूत रेजा नजाफीले देशकै विशाल आणविक केन्द्रमा क्षति पुगेको बताउनुभएको हो । इरानले तीन दिनदेखिको आक्रमणका कारण आफ्नो देशमा ५ सय ५५ जनाको ज्यान गएको बताएको छ ।


कुबेतमा अमेरिकी सैन्य अखडा नजिकै अमेरिकी फाइटर जेट दुर्घटना भएको छ । चालक दलका सबै सदस्य सुरक्षित रहेका र घटनाको कारणबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।


यसैबीच फ्रान्सका विदेशमन्त्री जीन–नोएल ब्यारोटले इरानविरुद्ध खाडी देशहरू र जोर्डनको रक्षा गर्न आफूहरू तयार रहेको बताउनुभएको छ ।


बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले इरानविरुद्धको आक्रमणमा अमेरिकालाई आफ्नो भूमि प्रयोग गर्न अनुमति दिने तर अहिले आक्रामक कारबाहीमा सामेल नहुने बताउनुभएको छ ।


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भिडियो सम्बोधन गर्दै आफ्ना सबै उद्देश्य पूरा नभएसम्म इरानविरुद्ध सैन्य कारबाही जारी रहने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया