.

नेपाली राष्ट्रिय महिला क्रिकेटका लागि ब्याटिङ प्रशिक्षकमा पाल्शिकर नियुक्त

विराटनगर , २१ साउन । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नियुक्त हुनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी– २० एसिया क्षेत्र छनोटका लागि देविकालाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो। क्यानले महिला टोलीका लागि विदेशबाट पहिलोपटक प्रशिक्षक ल्याएको हो।देविकाले भारतबाट एक टेस्ट र १५ ओडीआई खेल्नुभएको छ ।

भारतीय क्रिकेट बोर्डले गत वर्ष आयोजना गरेको वुमन्स प्रिमियर लिगमा देविकाले मुम्बई इन्डियन्सको टोलीमा ब्याटिङ प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो । टी २० विश्वकप छनोटका लागि नेपालले यसअघि नै २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ। विश्वकप टी–२० एसिया छनोट अगस्ट ३१ देखि सेम्टेम्बर ९ सम्म मलेसियामा हुनेछ।

नेपाल रहेको समूह ए मा आयोजक मलेसियासँगै बहराइन, भुटान, कतार र यूएई छन्। समूह बीमा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ।

ग्लोबल महिला टी २० विश्वकपमा आयोजक श्रीलंका र आयरल्यान्डसँगै पाँच क्षेत्रिय छनोटबाट आउने आठ टोलीसँगै कूल १० टोलीले खेल्नेछन्। त्यसका शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकपमा स्थान बनाउनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया