१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ ।
चीनको हान्झाउमा भोलि शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्दै छ ।
समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोट्र्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे देखि सुरु भएको छ ।नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्दैछ ।
पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् ।
अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाली महिला टोलीले एसियाडलाई एक्सपोजर लिने अवरको रुपमा लिएको छ ।नेपालले यसअघि भियतनासँग दुई पटक खेलेको छ ।
पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।