.

तीन सय किसानलाई हाते ट्याक्टर

भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हाते ट्याक्टर वितरण गरिएको हो ।

बाँकी किसानलाई क्रमशः वितरण गरिने छ । गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हाते ट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । विगत वर्षदेखि नै कृषि क्षेत्रमा विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । किसानमा व्यावसायिक सोचको विकास गराउन गाउँपालिकाले कृषिमा जोड दिएको छ । 

किसानलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गरिएको उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनले वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग सुनिश्चित गर्न नियमित अनुगमन र प्राविधिक सहायतामा जोड दिइने जानकारी दिइन् 

स्थानीय किसानले कार्यक्रमबाट सकारात्मक प्रभाव परेको बताएका छन् । किसान प्रेमबहादुर कार्कीले हाते ट्याक्टर प्रयोगले खेतबारी जोत्न, गोडमेल गर्न र अन्य कृषि कार्यमा लाग्ने समय तथा श्रम घटाउने बताए 

गाउँपालिकाले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै, उत्पादन लागत घटाउने तथा उत्पादकत्व बढाउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । कृषि उद्यमशीलता विकास गर्दै युवालाई कृषिमा आकर्षित गर्ने योजनाअनुसार गाउँपालिकाले किसानलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नका लागि गाउँपालिकाले यसअघि कृषि एम्बुलेन्ससमेत खरिद गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया