एसियाली खेलकुद महिला क्रिकेट छनोटमा इन्डोनेसियाले नेपालसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको हो।
इनिङ्सकै पहिलो ओभरमा आफ्ना ओपनरलाई गुमाएको इन्डोनेसिया मध्यक्रममा सम्हालिएपछि सम्मानजनक योगफ तयार पार्न सफल भयो । उसका लागि क्याप्टेन नीपुटु आयुनन्दाले नटआउट ५६ रन बनाइन्। यस्तै नीलुह देवीले २३ रन जोडिन्। दुवैले तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै इन्डोनिसियालाई सम्मानजनक योगफलउन्मुख गराएका थिए। नेपालले १७ रन अतिरिक्त दिएको थियो। नेपालका लागि मनिषा उपाध्यायले २ र रिया शर्माले एक विकेट लिइन्।
समूह बीमा रहेको नेपाल २ अंकमा शीर्ष स्थानमा छ। इन्डोनेसियाको शुन्य अंक छ। जारी खेलमा जित निकाल्न सके नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ। नेपालको जितले समूह बीमा रहेको चीन उपविजेता बन्नेछ। इन्डोनेसिया विजयी भए समान २ अंक हुने र रनरेटका आधारमा सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लाग्नेछ।